काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री समाज नेपालको सङ्क्षिप्त परिचय

नेपालका सात प्रदेश, २७ जिल्ला, ७० पालिका, २९५ गाउँ÷टोल, ९४१ परिवारका सदस्यहरूलाई वि.सं. २०७७ बैशाखबाट २०८१ बैशाखसम्म अनवरत रूपमा सञ्चालित बृहत् वंशावली ग्रन्थ निर्माण अभियानमार्फत् सङ्गठित गरी वि.सं. २०८१ बैशाख २५ गते स्याङ्जा जिल्ला प्रशासन कार्यालयमा दर्ता (नं. २७५०) भएको आधिकारिक संस्था हो काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री समाज नेपाल।

यस संस्थाका उद्देश्यहरूः

  • देश तथा विदेशमा बसोवास गर्ने काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री दाजुभाइ दिदीबहिनीहरूलाई पहिचान एवम् सङ्गठित गर्दै काश्यप गोत्रीय घिमिरे खड्का समाज नेपालमा आवद्ध गर्ने र बृहत् वंशावली ग्रन्थ प्रकाशन गर्ने।
  • काश्यप गोत्रीय घिमिरे खड्का वंशको गर्विलो इतिहासलाई गहन शोध, अनुसन्धानमार्फत् अभिलेखीकरण गरी हाम्रा पुख्र्यौली विरासतको संरक्षण गर्ने।
  • गोत्र, थर र प्रवर पहिचान नहुँदा काश्यप गोत्रीय घिमिरे खड्का दाजुभाइ दिदीबहिनीहरूबिच अनजानमा वैवाहिक सम्बन्ध समेत जोडिन सक्ने सम्भावनालाई निरुत्साहित गर्ने, समाप्त गर्ने।
  • ‘खड्का क्षत्री’ थरलाई सहजताको लागि सङ्क्षिप्तमा ‘के.सी.’ लेख्ने बढ्दो प्रचलनले कालान्तरमा आफ्नै गोत्रीय दाजुभाइ दिदीबहिनीहरूसमेत पहिचान गर्न गाह्रो हुन सक्ने सम्भावना देखिएको हुँदा अब उप्रान्त हाम्रो वंशका सबै छोरोछोरीहरूको नामको पछाडि ‘खड्का क्षत्री’ थर अनिवार्य रूपमा लेख्न लगाउने।