काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री वंशको सङ्क्षिप्त इतिहास

काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री सूर्य वंशीय खस महाजाति अन्तर्गतको गर्विलो वंश हो । यो वंश इतिहासको नालीवेलीबारे चर्चा गर्दा खस महाजाति, मष्ट उपासना, महर्षि काश्यप, वैवस्त मनु, सूर्य वंश आदि पौराणिक एवम् ऐतिहासिक प्रसङ्गहरू जोडिन्छन् । यस जातिको चर्चा ई.पू. ३००० (आजभन्दा ५०८१ वर्ष अगाडि) तिर चलेको थियो । प्रागैतिहासिक कालमा सर्वप्रथम युरोप र एसियाको सिमानामा पर्ने काकेसस पहाडमा देखा परेका खस महाजातिका ‘कस’ वा ‘सक’ पूर्वजहरू नै कालन्तरमा खसको रूपमा लोकप्रिय भए । ई. पू. १८०० तिर उनीहरू दक्षिण मेसोपोटामियाको टिग्रिस र युफ्राइटिस नदीको किनारमा अवस्थित वेविलोन आए । त्यहाँ झण्डै ४५० वर्ष शासन गरेपछि खस पूर्वजहरू (प्राचीन कस) हरू खसिस्तान, काश्यप सागर, खस मरुभूमि, अफगानिस्तानको गान्धर, वडाखसान, वाल्हीक प्रदेश, खैवरभन्ज्याङ, सिन्धुघाँटीको तट, कुमाऊ, गढवाल, पिथौरागढ र नेपालको दार्चुला हुँदै इसापूर्व प्रथम शताब्दी पहिले नै कर्णाली प्रदेशको सिञ्जा उपत्यकामा आइपुगे ।

मध्यकालमा लिपुलेक दरा अन्तर्गत पर्ने कालापानी र लिपियाधुरा तिब्बतको मानसरोबर जाने तीर्थयात्रा र व्यापारिक बाटोका लागि परिचित थिए । यही मूलबाटो भएर खस मूलका पूर्वजहरू हुम्लाको हिल्सा हँुदै केही नेपालको कर्णाली प्रदेश प्रवेश गरे भने केही तिब्बतर्फ लागे । खस सम्राट नागराज पनि यही बाटो भएर तिब्बतको मानसरोबर प्रदेशमा प्रवेश गर्ने खस पूर्वजहरू मध्येका थिए । उनले नै पहिले दक्षिणी तिब्बतको जडानलाई आधार बनाएर शासन गरे र पछि कर्णाली प्रदेशको जुम्लालाई केन्द्र बनाई खसान क्षेत्रलाई पनि आफ्नो अधिन पारी बाह्रौँ शताब्दीको सुरुवातमा विशाल खस साम्राज्यको स्थापना गरे । यो साम्राज्य निकै शक्तिशाली र विशाल थियो तर आन्तरिक कलहको कारण खस साम्राज्य दिनप्रतिदिन कमजोर हुँदै गयो ।

खस सम्राट पृथ्वीमल्लको शासनकाल (वि.सं. १३९५–१४१५) को अन्तिमतिर कमजोर हुन थालेको ‘खस साम्राज्य’ मलयवर्माको शासनकाल (वि.सं. १४३५–१४४६) मा विघटन भयो। त्यसपछि सेनामा ‘खड्गा दर्जा’ पाएका ‘खड्ग’ चलाउन सिपालु वा खड्ग सिद्धि प्राप्त गरेका साहसी व्यक्तिहरूले अछामको ‘प्राचीन घमिराउ’ मा घर गृहस्थी सुरु गरे। कालान्तरमा ‘खड्ग’ शब्द अपभ्रंश भएर ‘खड्का’ थर निर्माण भयो र ‘घमिराउ’ शब्दबाट ‘घिमिरे’ थर बन्यो। यसरी प्राचीन घमिराउमा बसोवास गरेका परिवारका सदस्यहरूलाई ‘घिमिरे खड्का’ परिचयात्मक शब्दले सम्बोधन गर्न थालियो। सर्वप्रथम काश्यप गोत्रीय घिमिरे खड्का परिवारले गृहस्थी सुरु गरेको ऐतिहासिक स्थान अछाम जिल्लाको ‘प्राचीन घमिराउ’ हो। हाल यो स्थान साँफेबगर न.पा.–१० मा पर्दछ। खस साम्राज्यकालीन समयको ‘घमिराउ’ शब्द विभिन्न कालखण्डमा ‘घुँगुर’, ‘घुँघुर’ बाट अपभ्रंश हुँदै हाल ‘घुँघुरकोट’ को रूपमा परिचित छ। काश्यप गोत्रीय घिमिरे खड्का समाज नेपालका महासचिव सोभितबहादुर खड्काको अनुरोधमा अछाम घुँघुरकोटका कौशिक गोत्रीय शिव खड्का (मो. ९८५८४२५०९७) ले उपलब्ध गराउनुभएको घुँघुरकोट (प्राचीन घमिराउ) को तस्बिर:

स्वतन्त्र प्युठान राज्यको स्थापनापछि अछामको ‘घमिराउ’ बाट तीन भाइ काश्यप गोत्रीय घिमिरे खड्का क्षत्रीमध्ये दुई भाइ डोटीको ‘फुलौट’ मा स्थानान्तरण भए र उनीहरूका सन्तान ‘फुलौट काश्यप गोत्रीय खड्का’ नामले परिचित भए। विभिन्न कालखण्डमा फुलौटका केही काश्यप गोत्रीय घिमिरे खड्का पूर्वजहरू डोटीकै ‘बाझ’ भन्ने स्थानमा स्थानान्तरण भई घर गृहस्थी सुरु गरेको हुनाले उनीहरूका सन्तान ‘बाझ फुलौट काश्यप गोत्रीय खड्का’ को रूपमा चर्चित भए। वि.सं. २०७७ सालमा प्युठानी काश्यप गोत्रीय घिमिरे खड्का बन्धुहरू– टंकबहादुर खड्का (हाल चतुर्थ उपाध्यक्ष), सिद्धिमान खड्का (हाल आजीवन सदस्य), रेशमबहादुर खड्का (हाल केन्द्रीय सल्लाहकार), प्रेमध्वज खड्का (हाल आजीवन सदस्य), दिपक खड्का (हाल केन्द्रीय सदस्य), दुर्गाबहादुर खड्का (हाल केन्द्रीय सचिव), प्रमोद खड्का (हाल आजीवन सदस्य) र विनोद खड्का (हाल आजीवन सदस्य) को टिमले डोटीको फुलौटको स्थलगत अध्ययन गरेको थियो। उक्त समयमा प्युठानी गोत्रीय दाजुभाइहरूले डोटी फुलौटका बौद्धिक व्यक्तित्व मकर खड्का (मो. ९८४७८२०२७६) सँग भेटघाट गरी हाम्रो वंशबारे महत्वपूर्ण ऐतिहासिक जानकारी सङ्कलन गर्नुभएको थियो।

डोटी फुलौटका काश्यप गोत्रीय बौद्धिक व्यक्तित्व मकर खड्का (मो. ९८४८६४९९२२) र बाझ फुलौट काश्यप गोत्रीय खड्का वंशावली निर्माण संयोजक खड्कबहादुर खड्का क्षत्री (मो. ९८४८४३४६७२) ले महासचिव सोभित खड्का क्षत्रीलाई जानकारी गराउनु भएअनुसार डोटीको फुलौट, सानागाउँ, उडीतोला, बाझ, वेडगाउँ, कारिगें, जोराइल आदि गाउँहरूमा ६००० फुलौट काश्यप गोत्रीय खड्का मतदाताहरू बसोवास गर्दछन् (फोन सम्पर्क २०८०/०८/०२ गते)। उहाँहरू र वंशावली ग्रन्थकार सोभितबहादुर खड्का क्षत्रीबीच वंशावली निर्माण सम्बन्धी पारस्परिक अनुभव आदान प्रदान भएका थिए। त्यसैगरी वंशावली निर्माण अभियानको क्रममा दैलेख छिउडी पुसा

कोट पुख्र्यौली घर भई हाल सुर्खेत निवासी समाजसेवी मदन खड्का क्षत्री (अध्यक्ष– दैलेख, बाझ फुलौट काश्यप गोत्रीय खड्का, मो. ९८५८०५१९७५) सँग महासचिव सोभितबहादुर खड्का क्षत्रीको २०७८ वैशाखदेखि सम्पर्क भई वंशावली निर्माण सम्बन्धी अनुभव आदान प्रदान भएका थिए। वि.सं. २०८० कार्तिक ११ गते मदन खड्का मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा पोखरामा भेट हुँदा अछामको ‘प्राचीन घमिराउ’ बाट डोटीको ‘फुलौट’ मा स्थानान्तरण भएका फुलौट काश्यप गोत्रीय खड्का, ‘प्राचीन घमिराउ’ का काश्यप गोत्रीय घिमिरे खड्का र बाझ फुलौट काश्यप गोत्रीय खड्का वंश इतिहासबारे छलफलको क्रममा खिचिएको तस्बिर:

मदन खड्काले दिनुभएको जानकारीअनुसार, खस साम्राज्यको विघटनपश्चात् अछामको ‘घमिराउ’ का तीन भाइ काश्यप गोत्रीय घिमिरे खड्कामध्ये दुई भाइ डोटीको फुलौट र समयक्रममा उनीहरूका केही सन्ततीहरू डोटीको बाझमा स्थानान्तरण भएका थिए। त्यहाँबाट केही ‘फुलौट’ काश्यप गोत्रीय पूर्वजहरू दैलेखको पानीमूल भन्ने स्थानमा स्थानान्तरण भई गृहस्थी सुरु गरे। हाल दैलेखमा करिब ८०० बाझ फुलौट काश्यप गोत्रीय खड्का परिवारहरू बस्दछन्। उनीहरूको कुलपूजा विधि र काश्यप गोत्रीय घिमिरे खड्का वंशको कुलपूजा विधिमा आधारभूत समानता पाइएको छ।

अछामको ‘प्राचीन घमिराउ’ बाट काश्यप गोत्रीय घिमिरे खड्का वंशलताका एउटा भाइका सन्ततिहरू सुर्खेतको बादेपिपल, राकम, गुर्भाकोट हुँदै प्युठानको ‘खैरा’ आए। खैरामा केही सय वर्ष बसेपछि काश्यप गोत्रीय घिमिरे ‘उमराउ’ जयनन्द खड्काका पूर्वजहरू प्युठानको भित्रीकोट

 हुँदै कुवापानी, सापडाँडा र पुन्यखोलामा आई बसोवास सुरु गरे। यी स्थानहरूमा आएका पूर्वजहरू र ‘खैरा’ बाट गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, त्रिशुली नदीको तट हुँदै गोरखासम्म फैलिएका काश्यप गोत्रीय घिमिरे खड्का वंशका पूर्वजहरूको वंशलता प्युठानको ‘खैरा’ भन्ने स्थानबाट छुट्टिएको हुनाले यस स्थानको ऐतिहासिक महत्व छ। प्युठानी गोत्रीय दाजुभाइहरूले अध्ययन गरी पठाउनुभएको ऐतिहासिक खैरा, प्युठानको तस्बिर:

 

प्युठानको खैराबाट गोरखासम्म फैलिएका पूर्वजहरूको वंशलताका काश्यप गोत्रीय मनोहरसिंह घिमिरे खड्का गोरखाका राजा भए। द्रव्य शाहले वि.सं. १६१६ मा उनको हत्या गरी आफूलाई गोरखाको राजा घोषित गरे।काश्यप गोत्रीय घिमिरे खड्का वंश विरासतको गर्विलो इतिहास जोडिएको ऐतिहासिक गोरखाको सुन्दर तस्बिर– द्रव्य शाहको हातबाट काश्यप गोत्रीय मनोहरसिंह घिमिरे खड्का क्षत्रीले वीरगति प्राप्त गरेपछि पूर्व राजाका सन्तानहरू असुरक्षाको कारण गोरखाबाट विस्थापित भई स्याङ्जा, पश्चिम ४ नं. नुवाकोट, तनहुँसुर र नेपालमण्डलका तत्कालीन राजाहरूको सहयोगले यी राज्यहरू अन्तर्गतका विभिन्न गाउँठाउँमा बसोवास थालनी गरे। यी तीन राज्यहरूमा बसोवास गर्ने काश्यप गोत्रीय घिमिरे खड्का परिवारहरू र प्युठानी काश्यप गोत्रीय ‘उमराउ’ जयनन्द घिमिरे खड्का क्षत्री वंशका सन्ततिहरू हाल नेपालका २१ क्लस्टरमा आफ्नो वंश परम्पराअनुसार कुलपूजा गर्दछन्। काश्यप गोत्रीय घिमिरे खड्का समाज नेपालमा आवद्ध ९४१ परिवारहरू नेपालका ७० पालिका अन्तर्गतका २९५ गाउँ÷टोलमा बसोवास गर्दछन्। यहाँ उल्लेख भएका सबै ऐतिहासिक प्रसङ्गहरूको अद्योपान्त वर्णन बृहत् वंशावली ग्रन्थमा समावेश गरिएको छ। काश्यप गोत्रीय घिमिरे खड्का पूर्वजहरूले तत्कालीन समयमा सहयोग प्राप्त गरेका तत्कालीन भित्रीकोट (प्युठान), पश्चिम ४ नं. नुवाकोट (स्याङ्जा), तनहुँसुर, नेपालमण्डल, गोरखा र भीरकोट राज्यहरूको संक्षिप्त इतिहास प्रस्तुत बृहत् वंशावली ग्रन्थमा समेटिएको छ।

हाम्रा पूर्वज र उनीहरूका परिवारलाई असुरक्षाको कारण ठूलो सङ्कट परेको बेलामा उनीहरूको मर्म र भावना बुझी सहयोग गर्ने उपरोक्त राज्यका तत्कालीन राजा तथा प्रजाप्रति हाम्रो वंश सदा अनुगृहीत रहने छ। अतः हाम्रा पूर्वजहरूलाई दुःखकष्टको बेलामा साथ दिने बाइसे चौबिसे राज्यहरूको वंश विरासतबारे हामी सबैले जान्नुपर्छ र गर्व गर्नुपर्छ। यही कारणले प्रस्तुत बृहत् वंशावली ग्रन्थमा यी राज्यहरूको बारेमा संक्षिप्तमा चर्चा गरिएको छ।

काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री वंशका सृष्टिकर्ता महर्षि काश्यप हुन्। सृष्टिकर्ता व्रह्माका मानसपुत्र र मरिचि ऋषिका पुत्रको रूपमा चर्चित काश्यप ऋषि विख्यात, प्रजापति, देवता तथा दानवका जनक एवम् काश्यप गोत्रका प्रवर्तक हुन्। उनलाई संसारका विभिन्न जीवहरूको उत्पत्ति गराउने ऋषिको रूपमा पुराणमा चित्रण गरिएको छ। काश्यप गोत्रका तीन प्रवर काश्यप, आवात्स र नैध्रुवको श्रीगणेश महर्षि काश्यप र उनीपछिका प्रभावशाली ऋषिहरूबाट भएको हो।

संक्षिप्त वंश इतिहासः

वंशहरूको सुरुवात र अस्तित्व सम्बन्धमा विभिन्न वैदिक र पौराणिक मिथक प्रसङ्गहरू जोडिएको पाइन्छ। सूर्यवंश र चन्द्रवंशको सुरुवात भगवान् विष्णुबाट भएको विश्वास गरिन्छ। विष्णु भगवान्का मानसपुत्र सृष्टिकर्ता व्रह्मा थिए। उनीबाट मरिचि नामका मानसपुत्र जन्मिए। मरिचिबाट महर्षि काश्यपको जन्म भयो र काश्यप ऋषिबाट वैवस्वत मनुको जन्म भयो। विलक्षण प्रतिभाका धनी मनु कुशल प्रशासक मानिन्थे। उनले धर्मको रक्षा र समाजलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न नीति निर्माण गरी कार्यान्वयन समेत गरे।

  • सूर्यवंशः पुराण, सनातन हिन्दु शास्त्र र वैदिक परम्पराअनुसार सूर्यवंशको उत्पत्ति सूर्यदेवताबाट भएको मानिन्छ। महर्षि काश्यप, मनु र उनका पुत्र इक्ष्वाकुको वंश लहरोले प्रतिनिधित्व गर्ने वंशलाई सूर्यवंश भनिन्छ। मनुस्मृति र पुराणमा उल्लेख भए अनुसार इक्ष्वाकु सूर्यवंशका प्रथम प्रसिद्ध राजा थिए। अग्निजस्तै तेज र पराक्रमी सम्राट र राजाहरूले शासन गरेका हुँदा उनीहरूको वंश सूर्यवंशी कहलायो। सूर्यवंशको चर्चित ग्रन्थ रामायण हो। महर्षि काश्यप र देवताहरू मध्ये कुन पहिले अस्तित्वमा थिए भन्ने कुरा पौराणिक मान्यता र ग्रन्थहरूको व्याख्यामा निर्भर पर्दछ। पौराणिक कथनअनुसार महर्षि काश्यपले नै देवता लगायत सम्पूर्ण चराचर जगतको उत्पत्ति गरेका हुन् भन्ने विश्वास गरिन्छ। तर वैदिक शास्त्रअनुसार देवताहरू पहिले अस्तित्वमा थिए भन्ने निष्कर्ष छ। महर्षि काश्यप, मनु, इक्ष्वाकु, राजा दशरथ, भगवान् राम, राजा हरिश्चन्द्र आदि सूर्यवंशी थिए। काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री सूर्यवंश अन्तर्गत पर्दछन्। वि.सं. १६१६ मा यस वंशका कुलपुरुष मनोहरसिंह घिमिरे खड्का क्षत्री गोर्खाका राजा थिए। उनले द्रव्य शाहको हातबाट वीरगति प्राप्त गरे।
  • चन्द्रवंशः चन्द्रवंशको इतिहास चन्द्रमासँग जोडिएको पाइन्छ। चन्द्रवंशको इतिहास वैवस्वत मनुकी पुत्री इलाको वंशसँग जोडिएको विश्वास गरिन्छ। चन्द्रमाजस्तै गुण, तीक्ष्ण बुद्धि र तेजस्वी स्वभाव भएका राजाहरूका पुर्खालाई चन्द्रवंशी भनिन्छ। पुराण प्रसिद्ध पुरु, भगवान् कृष्ण, भगवान् बुद्ध, भरत, कौरव, पाण्डव आदि चन्द्रवंशी थिए। चन्द्रवंशको चर्चित ग्रन्थ महाभारत हो।
  • रघुवंशः रघुवंश सूर्यवंशकै उपवर्ग हो। यो वंशको सुरुवात राजा रघुबाट भएको हो। उनी दानी र शक्तिशाली राजाको रूपमा चर्चित थिए।

अन्य वंशहरू – अग्नीवंश, यदुवंश, नागवंश आदि।